
काठमाडौं । देशभर पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय प्रणाली सक्रिय हुँदा आज (सोमबार) विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बढी प्रभावित हुने पूर्वानुमान छ । हाल कोशी र बागमती प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा भइरहेको छ भने लुम्बिनीका उच्च भू–भागमा पनि मेघगर्जनसहित पानी परिरहेको महाशाखाले जनाएको छ ।
दिउँसो देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा बादल लाग्ने तथा तराईका भू–भागमा आंशिक बदली रहने अनुमान छ । महाशाखाका अनुसार कोशी, गण्डकी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्छ ।
राति पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना नरहेको विभागले जनाएको छ । राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।


















