
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार बिहान करिब दुई घण्टा अवरुद्ध भएपछि पुनः सञ्चालनमा आएको छ ।
इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान अवतरणका क्रममा पांग्रामा आगो देखिएपछि आपतकालीन अवस्था सिर्जना भएको थियो । विमान धावनमार्गमा अवतरण गर्ने क्रममा चक्कामा आगो देखिएपछि विमानलाई तत्काल रोकिएको थियो ।
त्यसपछि चालक दलले आपतकालीन ढोका खोली २७७ यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए । यात्रुहरूमा चार बालबालिका पनि रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले बताए ।
दमकल र उद्धार टोलीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो । उद्धारका क्रममा केही यात्रुहरूलाई सामान्य चोटपटक लागेको बताइएको छ । तर, सबै यात्रु सुरक्षित रहेका छन् ।
घटनापछि धावनमार्ग केही समय अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय उडान तथा अवतरण सेवा प्रभावित भएको थियो । ठूलो विमानहरूको नियमित तालिका समेत केही समय प्रभावित बनेको विमानस्थल स्रोतले जनाएको छ ।
जहाजहरु आकाशमै ‘होल्ड’ भएका थिए । आगलागी नियन्त्रण र उद्धार कार्य सम्पन्न भएपछि विमानस्थल पुनः सुचारु गरिएको हो । अहिले नियमित उडान सञ्चालन भएपछि अवस्था सामान्य बन्दै गएको सिटौलाले बताए ।

























