
काठमाडौं। विपक्षी दल नेपाली कम्युनिस्ट पार्टीले बजेट अधिवेशनमा सरकारका कामकारबाहीको प्रभावकारी प्रतिवाद गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारका गलत कदमको सशक्त ढङ्गले विरोध गर्न सांसदहरूलाई निर्देशन दिए।
बैठकले सरकारले संसद् छलेर ल्याएका ८ वटा अध्यादेश र प्रतिनिधिसभा कार्य सञ्चालन नियमावलीमा सत्तारुढ दलले देखाएको व्यवहारप्रति कडा आपत्ति जनाउने निर्णय गरेको छ। सांसद गोपाल शर्माका अनुसार नियमावलीलाई विशेष कानुन सरह लागू गर्ने सत्तापक्षको प्रयासमा विपक्षीको विमति रहेको छ। उनले संसद् छलेर अध्यादेश ल्याउने प्रवृत्तिको संसद्मै विरोध गरिने जानकारी दिए।
यस्तै, भूमिहीन सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापन नगरी बस्ती भत्काइएको विषयलाई पनि विपक्षीले प्रमुखताका साथ उठाउने भएको छ। सरकारले सुकुम्बासी समस्या समाधानमा गम्भीर नभएको भन्दै नेकपाले सदनमा विरोधको तयारी गरेको छ।
सरकारले संसद् अधिवेशन नबोलाई अध्यादेशहरू ल्याएकोमा विपक्षी दलहरू असन्तुष्ट छन्। केहीबेरमा सुरु हुने संसद्को विशेष बैठकमा विपक्षी दलहरूले यी विषयमा आफ्नो धारणा राख्नेछन्।

























