प्रतिवेदन सार्वजनिकको माग गर्दा धरपकड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २८, सोमबार १४:१३

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै ललितपुरमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गरेको छ ।

ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय कार्यालय अगाडि सोमबार राष्ट्रिय जेनजी नागरिक अभियानले धर्ना तथा विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागीहरूले आयोगले आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गरी प्रतिवेदन तयार पारे पनि सार्वजनिक नगरेको आरोप लगाउँदै तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए ।

Advertisement

प्रदर्शनकारीहरू विभिन्न ब्यानर र प्लेकार्डसहित आयोगको कार्यालय अगाडि नाराबाजी गरेका थिए । उनीहरूले ‘प्रतिवेदन सार्वजनिक गर’, ‘सत्य लुकाउन पाइँदैन’ लगायतका नारासमेत लगाएका थिए । आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने भन्दै उनीहरूले आयोगमाथि दबाब दिएका थिए ।

प्रदर्शन शान्तिपूर्ण रूपमा भइरहेका बेला निषेधित क्षेत्रतर्फ जान खोजिएको भन्दै प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर धकेलाधकेल भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा ९ जना पुरुष र १ जना महिला रहेका छन् । उनीहरूलाई आवश्यक सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीहरूले भने आफूहरू शान्तिपूर्ण रूपमा प्रतिवेदन सार्वजनिक गर्न माग गरिरहेको अवस्थामा प्रहरीले अनावश्यक बल प्रयोग गर्दै धरपकड गरेको आरोप लगाएका छन् । उनीहरूले आयोगले प्रतिवेदन सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.