
काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले सुकुम्बासी बस्तीमा सुरक्षा फौजको आतङ्क देखाएर सरकारले डोजर चलाएको भन्दै कडा आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै प्रमुख सचेतक दुलालले सरकारको यस्तो कार्यले नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाए।
‘डोजर आतङ्क देखाइएकै कारण इन्द्रबहादुर राईले आत्महत्या गर्दा सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?’भन्दै उनले सदनमा प्रश्न गरे। सुकुम्बासीहरूको उचित व्यवस्थापन नगरी बल प्रयोग गरेर उठिबास लगाउनु अमानवीय भएको उनको भनाइ थियो।
यसैगरी, दुलालले सरकारले संसद् छलेर ल्याएका अध्यादेशहरू र प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाप्रति पनि विरोध जनाए। सरकार लोकतान्त्रिक मूल्य मान्यता कुल्चिएर निरङ्कुश बन्दै अघि बढेको आरोप लगाउँदै उनले यी कदमहरूको सदनमा सशक्त प्रतिवाद गर्ने बताए। सरकारका पछिल्ला निर्णयहरूले मुलुकमा द्वन्द्व निम्त्याउन खोजेको दाबी समेत उनले गरे।

























