इटहरीमा बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार ०७:५४

सुनसरी । सुनसरीको इटहरीमा मंगलबार बिहान यात्रुवाहक बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१७ स्थित विवेक पेट्रोल पम्पनजिक दुर्घटना भएको हो । पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६६४९ नम्बरको नाइट बसले पूर्वतर्फ नै आउँदै गरेको प्रदेश २–०१–००१ त १४६७ नम्बरको ट्याक्टरलाई बिहान ३ः४५ बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Advertisement

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार दुर्घटनामा परेर ट्याक्टरमा सवार सप्तरीको कन्चनरुप नगरपालिका–५ का १८ वर्षीय उत्तम सरदारको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा सान्वी सीटी अस्पताल लविपुरमा मृत्यु भएको श्रेष्ठको भनाइ छ ।

दुर्घटना लगत्तै प्रहरीले बस र चालक झापाको बिर्तामोड नगरपालिका–१ का ३५ वर्षीय सन्दीप नेपाली तथा ट्याक्टर र चालक सप्तरीको कन्चनरुप–५ का ३० वर्षीय कैलाश यादवलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । बसले पछाडिबाट ठक्कर दिएपछि ट्याक्टर सडकको बीचमै पल्टिएका कारण राजमार्ग केहीबेर एकतर्फी मात्रै सुचारु भएको थियो ।

अहिले सडक दुईतर्फी नै सञ्चालनमा छ । बसले ट्याक्टरलाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.