
काठमाडौं । प्रतिनिधिसभाको आज (मंगलबार) बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा ६ वटा दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्दाम्बे, नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्नेछन्। प्रचण्डले निर्वाचित भएपछि पहिलो पटक सम्बोधन गर्न लागेका हुन् र उनले पूर्वप्रधानमन्त्रीको हैसियतमा सम्बोधनका लागि विशेष समय माग गरेका छन्।
हिजो बसेको दलको बैठकमा सरकारले संसद् छलेर अध्यादेश ल्याएको र उचित व्यवस्थापन बिना काठमाडौँ उपत्यकाका नदी किनारबाट सुकुम्बासी बस्ती हटाएको लगायतका विषयमा सरकारलाई खबरदारी गर्ने निर्णय भएको थियो। प्रचण्डले यी विषयलाई आफ्नो सम्बोधनमा प्राथमिकताका साथ उठाउने बुझिएको छ।
यसैगरी श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले पनि बैठकमा सम्बोधन गर्ने कार्यसूची छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भने सभापति रवि लामिछानेले सम्बोधन गर्ने वा दलको उपनेताले भन्ने विषयमा संसदीय दलको बैठकले केही बेरमा टुंगो लगाउने सचेतक प्रकाशचन्द परियारले जानकारी दिए।
बजेट अधिवेशनको पहिलो दिन सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आजको बैठकमा सोही नीति तथा कार्यक्रममाथि छलफलका साथै समसामयिक राजनीतिक मुद्दाहरूमा बहस हुने देखिएको छ।


















