राष्ट्रिय परिचयपत्रको सेवा देशभर ठप्प, प्रणालीमा प्राविधिक समस्या

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार १५:०६

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आएको प्राविधिक समस्याका कारण देशभरको सेवा अवरुद्ध भएको बताएको छ। विभागले मंगलबार एक सूचना जारी गर्दै प्रणालीको मर्मत कार्य नसकिएसम्म सेवा सुचारु हुन नसक्ने जानकारी दिएको हो।

गत वैशाख २१ गतेदेखि प्रणालीमा प्राविधिक समस्या देखिएपछि नयाँ दर्ता (इनरोलमेन्ट) गर्दा जारी हुने राष्ट्रिय परिचय नम्बरलाई प्रणालीले प्रमाणीकरण गर्न सकेको छैन। यसअघि विभागले वैशाख २३ गते नै सूचना जारी गरी मर्मत भइरहेको बताए पनि हालसम्म समस्या समाधान हुन नसकेकाले सेवा प्रभावित भइरहेको छ।

Advertisement

विभागले देशभरका सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको परिचयपत्र इकाईसहित सबै केन्द्रहरूलाई पत्राचार गर्दै सेवा अवरुद्ध भएको जानकारी गराएको छ।

प्रणालीमा देखिएको समस्याको मर्मत कार्य अझै जारी रहेको र मर्मत पूरा नभएसम्म नयाँ इनरोलमेन्टका कार्यहरू प्रभावित हुने विभागले जनाएको छ। सेवा सुचारु हुनासाथ अर्को सूचनामार्फत जानकारी गराइने विभागले बताएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.