
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जनमतको कदर गर्दै अहंकार नत्यागे इतिहास दोहोरिने चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले झण्डै दुई तिहाइको विशाल बहुमतलाई ‘अहंकारको मलखाद’ बन्न नदिन सुझाव दिए।
सम्बोधनका क्रममा प्रचण्डले हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुने बताए। संख्या कहिल्यै स्थायी नहुने र जनताको समर्थन पनि निःशर्त नहुने उल्लेख गर्दै उनले हिजो नेकपाको रूपमा आफूहरू पनि त्यही शक्तिमा रहेको तर कमजोरीका कारण टिक्न नसकेको स्मरण गरे। उनले रास्वपालाई नेकपाको अनुभव र इतिहासबाट सिक्न आग्रह गरे।
प्रचण्डले वर्तमान सरकारको कार्यशैलीमाथि आलोचना गर्दै गरिब, सुकुम्बासी र निमुखा जनतामाथि प्रहार भइरहेको बताए। बिना कुनै विकल्प सुकुम्बासी बस्ती भत्काउनु र सीमा क्षेत्रका गरिबलाई सास्ती दिनु लोकतान्त्रिक पद्धति नभएको उनको तर्क थियो। जनतालाई उठिवास लगाएर र बिचल्ली पारेर लोकतन्त्रको सर्भिसिङ नहुने उनले स्पष्ट पारे।
अहिलेको समावेशी र समानुपातिक संसद् आफूहरूको रगत र बलिदानको जगमा बनेको भन्दै यसको अपमान नगर्न उनले आग्रह गरे। विद्यार्थी संगठन र ट्रेड युनियनको आवाज थुन्ने प्रयासलाई उनले ‘प्रतिगामी कदम’ को संज्ञा दिए।


















