संकटमा सेलाइन उद्योग : उत्पादन ठप्प हुने खतरा, अभावको जोखिम

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २९, मंगलबार १६:२३
मोरङको बूढीगंगामा सञ्चालित एलेक्सा लाइफ साइन्सेस नामक सेलाइन उद्योग ।

विराटनगर । अत्यावश्यक मानिने सेलाइन (स्लाइन)जन्य औषधिको मूल्य समायोजन नहुँदा उत्पादन र आपूर्तिमा गम्भीर संकट देखिन थालेको छ ।

सेलाइनजन्य औषधि आयातकर्ता तथा उत्पादकहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई केही दिनअघि ज्ञापनपत्र बुझाउँदै तत्काल मूल्य पुनरावलोकन नगरे देशभर सेलाइनको अभाव हुन सक्ने चेतावनी दिएका छन् । सरकारले २०६४ साल असोज १० गते मन्त्रीस्तरीय निर्णयमार्फत औषधिहरुको अधिकतम खुद्रा मूल्य (एमआरपी) निर्धारण गरेको थियो । जसमा प्लास्टिक बोतलमा आउने सेलाइन पनि समावेश गरिएको थियो ।

तर, १८ वर्षभन्दा बढी समय बितिसक्दा पनि मूल्य समायोजन नभएकाले उत्पादन लागत र बजार मूल्यबीच ठूलो असन्तुलन सिर्जना भएको आयातकर्ता तथा उत्पादकको गुनासो छ । ज्ञापनपत्रमा भनिएको छ, ‘कच्चा पदार्थ, प्याकेजिङ सामग्री तथा ढुवानी खर्च अत्यधिक रूपमा बढे पनि सेलाइनको मूल्य भने उही पुरानै कायम रहँदा स्वदेशी उद्योगहरू घाटामा जान थालेका छन् । हाल प्लास्टिक दाना (एलडीपी) जस्ता मुख्य कच्चा पदार्थको अभाव र मूल्य दोब्बरभन्दा बढी भएका कारण उत्पादन लागत अस्वाभाविक रूपमा बढेको छ ।’

हाल नेपालमा तीनवटा स्वदेशी उद्योगले सेलाइन उत्पादन गर्दै आएका छन् । पाँच विदेशी कम्पनीका उत्पादन आयात गरेर बजारमा बिक्री वितरण भइरहेको छ । तर, अहिलेको आपूर्ति अवस्था हेर्दा स्वदेशी उत्पादन र आयातित दुवै मिलाएर करिब एक महिनाको मात्र मौज्दात बाँकी रहेको मोरङमा सेलाइन उत्पादन गर्दै आएको एलेक्सा लाइफ साइन्सेसका निर्देशक दिनेश ठाकुरले बताए ।

ठाकुरले अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरूले पनि पुरानै दरमा कच्चा पदार्थ वा उत्पादन उपलब्ध गराउन नसक्ने जानकारी दिइसकेका छन् । यस्तो अवस्थामा नयाँ मूल्यमा कच्चा पदार्थ खरिद गर्दा उत्पादन लागत नै बिक्री मूल्यभन्दा बढी पर्ने अवस्था आएको उनले बताए । कच्च पदार्थको मूल्य अत्यधिक बढेका कारण उद्योग सञ्चालन असम्भव बन्दै गएको गुनासो ठाकुरको छ ।

उद्योगीहरूले नेपालमा औषधि मूल्य समायोजन गर्ने कुनै स्वतन्त्र र नियमित संयन्त्र नहुँदा समस्या झन् जटिल बनेको बताएका छन् । उनीहरूका अनुसार अन्य देशहरूमा औषधिको मूल्य हरेक वर्ष बजार अवस्था अनुसार घटबढ गर्ने व्यवस्था छ । जसले उपभोक्ता र उद्योग दुवैलाई सन्तुलनमा राख्छ । तर, नेपालमा २०६४ सालको मूल्य संरचना अझै लागू भइरहँदा उद्योग र उपभोक्ता दुवै लाभान्वित हुन नसकिरहेको उद्योगीहरुको तर्क छ ।

ज्ञापनपत्रमा छिमेकी मुलुकहरूको तुलनात्मक मूल्य सूची, कच्चा पदार्थको हालको अन्तर्राष्ट्रिय मूल्य र विगतको मूल्य परिवर्तनसम्बन्धी विवरण पनि समावेश गरिएको छ । अत्यावश्यक औषधि सेलाइनको आपूर्ति प्रभावित भएमा बिरामीहरूलाई सबैभन्दा बढी असर पर्ने चेतावनी उद्योगीहरुले दिएका छन् ।

ठाकुरका अनुसार समयमै मूल्य समायोजन नगरिएमा स्वदेशी उद्योग बन्द हुने मात्र नभएर बजारमा सेलाइनको कृत्रिम अभाव सिर्जना हुन सक्छ । उनले सरकारलाई तत्काल हस्तक्षेप गरेर यथार्थ लागतअनुसार मूल्य पुनः निर्धारण गर्न आग्रह गरेका छन् ।

यसैबीच, उद्योगीहरूको तर्फबाट अर्को गम्भीर आरोप पनि उठाइएको छ । उनीहरूका अनुसार केही औषधिहरूको एमआरपी अत्यधिक उच्च राखिएका कारण सरकारी स्वास्थ्य बीमा प्रणालीमार्फत अनावश्यक रूपमा बढी रकम भुक्तानी भइरहेको दाबी उनीहरुको छ ।

उदाहरणस्वरूप, ८ रुपैयाँ एमआरपी रहेको प्यान्टोप्राजोल ४० मिलिग्राम ट्याब्लेटलाई टेन्डरमार्फत करिब २ रुपैयाँमा खरिद गरिए पनि बीमा प्रणालीले पुरानै ८ रुपैयाँ मूल्यमा भुक्तानी गरिरहेको छ । उद्योगीहरूले यस्ता औषधिहरूको पनि वैज्ञानिक रूपमा मूल्य समायोजन गरिएमा आम नागरिकलाई ठूलो आर्थिक राहत मिल्ने बताए । साथै, सरकारी खर्चमा पनि उल्लेखनीय कटौती हुने उनीहरुको तर्क छ ।

सेलाइन आयातकर्ता तथा उत्पादकहरुले सरकारलाई बुझाएको ज्ञापनपत्रमा सेलाइन मात्र नभएर अन्य धेरै औषधिहरूको मूल्य संरचना पनि समय सापेक्ष नहुँदा बजारमा विकृति बढेको उल्लेख गरिएको छ । ‘पुरानो मूल्य प्रणालीका कारण एकातिर बिरामीहरू महँगो औषधि किन्न बाध्य छन् भने अर्कोतर्फ उद्योगहरू घाटामा गइरहेका छन्,’ ठाकुरले भने ।

स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार सेलाइनजस्तो अत्यावश्यक औषधिको आपूर्ति अवरुद्ध भएमा आकस्मिक उपचार, शल्यक्रिया तथा गम्भीर बिरामीहरूको उपचार प्रभावित हुन सक्छ । यस्तो अवस्थामा बजारमा देखिएको असन्तुलनलाई गम्भीर रूपमा लिनुपर्ने उनीहरूको सुझाव छ ।

‘यदि अहिलेको अवस्था यथावत रहयो भने उत्पादन बन्द गर्न उद्योगहरू बाध्य हुन्छन् । कच्चा पदार्थको मूल्य उत्पादनभन्दा बढी हुँदा व्यवसाय टिकाउन सम्भव हुँदैन,’ ठाकुर भन्छन् । उनले सरकारले तत्काल नीतिगत निर्णय गर्दै औषधिको एमआरपी पुनरावलोकन गर्नुपर्ने र नियमित मूल्य समायोजनको संयन्त्र स्थापना गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

सरकारले समयमै कदम नचालेमा देशभर सेलाइन अभाव हुने, अस्पताल सेवा प्रभावित हुने र अन्ततः बिरामीहरू सबैभन्दा ठूलो मारमा पर्ने चेतावनी उद्योगीहरुले दिएका छन् । सेलाइन आयातकर्ता तथा उत्पादकहरुले सरकारसमक्ष राखेको मूल्य समायोजनको माग अहिले स्वास्थ्य क्षेत्रकै संवेदनशील विषय बनेको छ ।

तपाइको प्रतिक्रिया
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
इनरुवामा काउली बोकेको ट्रकबाट अन्दाजी २ हजार ४९० किलो गाँजा बरामद
पहाडी क्षेत्रमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
कांग्रेसको १५ औं महाधिवेशन : बन्दसत्र सुरु हुँदै
बदलिएको कांग्रेसले देश पनि बदल्छ: गगन थापा
सत्तामुखी राजनीतिदेखि पार्टी सुधारसम्म : गगनको प्रतिवेदनमा कांग्रेसको आत्मस्वीकारोक्ति (पूर्णपाठ)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×