जलस्रोतमा नयाँ कानुनको तयारी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार ०६:०७

काठमाडौं । सरकारले जलस्रोत व्यवस्थापनलाई आधुनिक र संघीय संरचनाअनुकूल बनाउन नयाँ कानुन ल्याउने तयारी अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ‘जलस्रोत विधेयक २०८३’ अहिले स्वीकृतिको प्रक्रियामा रहेको जनाइएको छ ।

प्रस्तावित कानुनले पुरानो जलस्रोत ऐन, २०४९ लाई विस्थापित गर्दै तीन तहका सरकारबीचको अधिकार स्पष्ट पार्ने लक्ष्य लिएको छ । हाल देखिँदै आएको आयोजना स्वीकृति, स्रोत उपयोग र अधिकार क्षेत्रको अन्योल हटाउन नयाँ व्यवस्था गर्न लागिएको मन्त्रालयको भनाइ छ ।

Advertisement

विधेयकमा जलस्रोतको संरक्षणसँगै दिगो उपयोग, विपद् जोखिम न्यूनीकरण र एकीकृत व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ । साथै, जल तथा ऊर्जा आयोगको सचिवालयलाई थप जिम्मेवारी र अधिकार दिएर नीति समन्वय तथा दीर्घकालीन योजना निर्माणमा सक्रिय बनाइने तयारी छ ।

नयाँ ऐन लागू भएपछि प्रदेश र स्थानीय तहले आफ्नो आवश्यकता अनुसार छुट्टै कानुन बनाउन सक्ने व्यवस्था रहनेछ । मन्त्रालयले ऐनसँगै आवश्यक नियमावली पनि तयार गरिरहेको जनाएको छ । सरकारले चालु अधिवेशनमै विधेयक संसद्बाट पारित गराउने लक्ष्य राखेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.