
विराटनगर । विराटनगरको रानी नाकासहित मोरङका सबै नाकामा स्थानीय प्रशासनले सतर्कता उच्च बनाएको छ ।
भारतको पश्चिम बंगालमा सत्ता फेरिए लगतै नाकामा कडाइ गरिएको हो । नाकामा नेपाल प्रवेशका लागि परिचयपत्र अनिवार्य गरिएको छ । पूर्वी नाका काँकडभिट्टामा भने विगतदेखि परिचयत्र अनिवार्य थियो ।
भारतसँग सीमा जोडिएका सबै क्षेत्रमा सतर्कता बढाइएको कोशी प्रदेशबम प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले बताए । उनका अनुसार रोहिंग्या शरणार्थी नेपाल प्रवेश गर्न सक्ने आशंकामा सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो । ‘सीमा क्षेत्रमा रहेका सबै प्रहरी युनिटले सतर्कता बढाएका छन्,’ उनले भने,’ नेपाल प्रवेशका लागि परिचयपत्र अनिवार्य छ ।’
भारतको पश्चिम बंगालमा ममता बनर्जीको १५ बर्से शासन अन्त्य गर्दै भाजपाका शुभेन्दु अधिकारी मुख्यमन्त्री बनेका छन् । अधिकारी कट्टर हिन्दुवादी नेता हुन् । उनी मुख्यमन्त्री बनेपछि म्यानमारबाट बंगलादेश हुँदै पश्चिम बंगालमा शरण लिइरहेका रोहिंग्या शरणार्थीले शिविर छाड्न थालेपछि नेपाल प्रवेश गर्ने आशंकामा नाकामा कडाइ गरिएको हो ।
यसअघि प्रहरी प्रधान कार्यालयले भारतसँग सीमा जोडिएका सबै जिल्लामा सतर्कता अपनाउन सर्कुलर जारी गरेको थियो । नाकामा खटिएका सुरक्षाकर्मीले नेपाल आउनेलाई कारण पनि सोधिरहेका छन् । नाकामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
सुरक्षा जाँचका लागि तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ । भारतको कोलकाताबाट हरेक तीन दिनमा जोगवनीसम्म रेल आउँछ । रेल र सडकको बाटो हुँदै पश्चिम बंगालमा रहेका रोहिंग्या नेपाल प्रवेश गर्ने सम्भावना रहेको प्रहरी स्रोत बताउँछ ।
दुई देशको सिमानामा हुने अवैध घुसपैठ र गैरकानुनी गतिविधि नियन्त्रण गर्न नेपाल प्रवेशका लागि परिचयपत्र अनिवार्य गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए । ‘सीमा सुरक्षा हाम्रो नियमित ड्युटी हो । सीमा क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधि र भारतीय बजारमा निर्भर हुने प्रवृतिलाई रोक्नका लागि कडाइ गरिएको छ । मोरङ जिल्लाका सबै नाकामा परिचयपत्र अनिवार्य गरिएको छ,’ उनले भने ।

























