
काठमाडौं । प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम सिफारिस गरिएको छ । सभामुख डोलप्रसाद अर्यालले उनलाई वर्तमान सचिव हर्कराज राईको स्थानमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
संविधानको धारा १०६ को उपधारा १ अनुसार सभामुखको सिफारिसमा प्रतिनिधिसभा सचिव नियुक्त हुने व्यवस्था छ । संखुवासभाको खाँदबारी नगरपालिका–३ घर भएका अधिकारी २४ वर्षको निजामती सेवा अनुभवसहित उपसचिव पदबाट सेवानिवृत्त कर्मचारी हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनले दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक साझेदारी विषयमा समेत स्नातकोत्तर अध्ययन गरेका छन् । संघीय संसद्का महासचिव, प्रतिनिधिसभा सचिव तथा राष्ट्रियसभाका सचिवको सेवा–सर्तसम्बन्धी ऐन, २०७५ अनुसार अधिकारीले विशिष्ट श्रेणीको सचिवसरहको सुविधा पाउनेछन् ।
सभामुख अर्यालको सिफारिसपछि अब राष्ट्रपतिको निर्णयपछि उनको नियुक्ति औपचारिक हुनेछ । वर्तमान सचिव हर्कराज राईलाई हटाउने प्रक्रियासँगै संसद सचिवालयमा नयाँ नेतृत्वको तयारी भएको हो ।


















