
काठमाडौं। सांसदहरूले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना र सुकुम्बासी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरूले जातीय विभेदका घटना न्यूनीकरण र रुग्ण उद्योग सञ्चालनमा ध्यान दिन पनि सरकारसँग आग्रह गरे ।
सांसद कमला पन्तले मुलुकको गौरवका रूपमा रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनको तयारी सम्बन्धमा सरकारको जवाफ माग गरिन् । सांसद जयन्ती राईले अतिक्रमण हटाउने क्रममा विस्थापित भएका सुकुम्बासीको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद दुर्गा गुरुङले दीर्घकालीन रूपमा सुकुम्बासी समस्या समाधान गर्न सरकारसँग आग्रह गरिन् ।
सांसद नरबहादुर विष्टले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने योजना ल्याउन सरकारको ध्यानाकर्षण गराए । सांसद नारायणदत्त मिश्रले नागरिक अधिकार र लोकतन्त्रको रक्षामा सरकारको प्रतिबद्धता माग गरे । सांसद भुवनबहादुर सुनारले जातीय विभेदका घटना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरे ।
सांसद मदनकुमारी शाह (गरिमा)ले कसैले पनि संसद्को अवमूल्यन गर्न नहुने बताइन् । सांसद युवराज शर्माले सुशासन, मूल्यवृद्धि नियन्त्रण र विकास निर्माणलगायत विषयमा सदन र सरकारको ध्यानाकर्षण गराए । सांसद राजेन्द्रलक्ष्मी गैरेले स्वास्थ्य क्षेत्रमा संवेदनशील हुन सरकारलाई सुझाव दिइन् भने सांसद सोनाम गेल्जेन शेर्पाले सिंहदरबारभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्न माग गरे ।

























