
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना संसदीय दलका नेता रामबहादुर थापाले बोलेका कुन–कुन शब्द असंसदीय हुन् भन्नेबारे जानकारी दिन सभामुखसँग माग गरेको छ। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा एमालेका प्रमुख सचेतक ऐन महरले सभामुख डोलप्रसाद अर्यालसँग उक्त स्पष्टीकरण मागेका हुन्।
यसअघि सभामुख अर्यालले एमाले नेता थापाले प्रयोग गरेका शब्दहरू अमर्यादित र असंसदीय भएको भन्दै संसद् सचिवालयलाई रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। बैठकमा बोल्दै सचेतक महरले प्रतिनिधि सभा नियमावलीको नियम २१ (घ) को हवाला दिँदै आफ्ना नेताले बोलेका कुन शब्द अशिष्ट भए भनी प्रश्न गरे। उनले आफ्ना नेताको अभिव्यक्तिमा के त्यस्तो अशिष्टता थियो भन्दै त्यसको स्पष्ट जानकारी पाउनुपर्ने जिकिर गरे।
महरले एमालेका शब्दमा मात्र नभई सत्तापक्षीय सांसदहरूका अभिव्यक्तिमा पनि प्रश्न उठाएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले न्यायाधीशप्रति प्रयोग गरेका ‘भरौटे’ र ‘आसेपासे’ जस्ता शब्द तत्काल हटाउन माग गरे। संविधानको धारा १०५ उल्लेख गर्दै उनले अदालतमा विचाराधीन मुद्दा र न्यायाधीशको कार्यसम्पादनबारे सदनमा छलफल गर्न नहुने तर्क गरे। त्यस्तै रास्वपा सांसद रमेश प्रसाईले प्रयोग गरेको ‘नरसंहार’ जस्ता शब्द पनि असंसदीय भएको भन्दै उनले रेकर्डबाट हटाउन माग गरे।
एमालेको मागपछि सभामुख अर्यालले नेता रामबहादुर थापाले बोलेका ‘अराजकहरूको भीड’, ‘राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू’ र ‘नेपाली सेना मूकदर्शक’ भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाइएको जानकारी दिए। ती शब्दहरू असंसदीय र अमर्यादित भएको सभामुखको ठहर छ। बुधबारकै बैठकमा सम्बोधन गर्ने क्रममा नेता थापाले ती शब्दहरू प्रयोग गरेका थिए। सदनमा शब्दहरू हटाउने र स्पष्टीकरण माग्ने क्रमले केही समय बहसको वातावरण सिर्जना गरेको थियो।

























