
काठमाडौं। विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित भएको छ। बुधबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएपछि विपक्षीले उनको सहभागिताको माग गर्दै बैठक अवरुद्ध गरे।
उनीहरूले सरकारको नीति तथा कार्यक्रम समेत प्रधानमन्त्रीले नै टेबुल गर्नुपर्ने माग गरे। त्यसपछि १५ मिनेट स्थगित भएर फेरि बसेको बैठकमा पनि प्रतिपक्षी दलले सोही कुरा दोहोर्याएपछि बैठक अघि बढ्न सकेन। दोस्रो बैठकमा सभामुखले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले टेबुल गरिसकेकाले सभा अघि बढाउन पटक-पटक आग्रह गरेका थिए।
तर, देशभित्रै भएका प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्न प्रतिपक्षी दलले सभामुखसमक्ष माग गरे। सभामुखले यसबारेमा छलफल गरेर सदनलाई जानकारी गराउने बताए पनि विपक्षीले नमानेपछि बैठक फेरि १५ मिनेटका लागि स्थगित भएको छ।

























