
काठमाडौं। बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.१५ अंकले घटेको छ। यो कमीपछि नेप्से २७४० अंकमा अडिएको छ। बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा करिब ४० प्रतिशतले घटेको छ।
अघिल्लो दिन ४ अर्ब ६६ करोडको कारोबार भएकोमा आज जम्मा २ अर्ब ८० करोडमा सीमित भएको छ। यो कारोबार रकम गत फागुन २५ यताकै न्यून हो। सो दिन सर्किट ब्रेक लागेर स्थगित हुँदा पूरा कारोबार हुन सकेको थिएन। आज ८२ कम्पनीको मूल्य बढेको छ भने १७६ को घटेको छ। १२ कम्पनीको मूल्य भने स्थिर रह्यो।
व्यापार र उत्पादनबाहेक सबै समूहगत सूचक घटेका छन्। व्यापार १.५० तथा उत्पादन ०.४७ प्रतिशतले बढे। बैंकिङ ०.२४, विकास बैंक ०.१९, फाइनान्स ०.३६, होटल तथा पर्यटन ०.४२, हाइड्रोपावर ०.१२, लगानी ०.२२, जीवन बीमा ०.५०, माइक्रोफाइनान्स ०.५२, निर्जीवन बीमा ०.६१ र अन्य समूह ०.३० प्रतिशतले घटे।
एसियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ११.४२ प्रतिशतले बढ्यो भने दोस्रोमा रहेको एसवाई प्यानलको ४.६२ प्रतिशतले वृद्धि भयो। धौलागिरि लघुवित्तको मूल्य ११.१७ प्रतिशतले घट्यो। त्यस्तै झापा इनर्जीको ९.४३ र रिजलाइन इनर्जीको ४.८७ प्रतिशतले मूल्य घटेको छ। आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, रिडी पावर, साहस ऊर्जा, सोलु हाइड्रोपावर र रिलायन्स स्पिनिङ मिल्स् रहे।



















