
काठमाडौं । देशभर तीन मौसमी प्रणाली सक्रिय हुँदा आज (बिहीबार) कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा बनेको न्यूनचापीय क्षेत्रको संयुक्त प्रभावका कारण मौसम बदली भएको हो । हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।
केही स्थानमा मध्यम वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ । बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।
ती प्रदेशका केही स्थान तथा मधेश, लुम्बिनी र अन्य पहाडी भू–भागका थोरै क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
राति पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।



















