
विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका–६ चुरियामा मादक पदार्थ सेवन (मापसे) गरेका चालकले चलाएको पिकअप गाडी बुधबार साँझ टिपरसँग ठोक्किँदा पाँच जना घाइते भएका छन् ।
गाईघाटबाट लाहानतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ च १५७३ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ क २६७२ नम्बरको टिपर साँझ करिब ६ बजेतिर एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पिकअपमा सवार सिराहाको धनगढीमाई नगरपालिका–१ का ४० वर्षीय बद्रीनारायण चौधरी गम्भीर घाइते भएका छन् । शरीरका विभिन्न भागमा चोट लागेका उनको सप्तऋषी अस्पताल लहानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, धनगढीमाई–१ का ३५ वर्षीय रामसुन्दर महतो, उनका ५ वर्षीय छोरा डेविस महतो, ५० वर्षीय राजकुमार महतो र २० वर्षीय शिवशक्ति कुमार चौधरी घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको जानकारी प्रहरीले दिएको छ ।
प्रहरीका अनुसार पिकअप चालक धनगढीमाई –१ का २७ वर्षीय किरण चौधरीले मापसे गरेको पुष्टि भएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले टिपर र चालक सिराहाको गोलबजार नगरपालिका–६ का ३३ वर्षीय रिकेशकुमार यादवलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।


















