संसद्‌मा एमालेको प्रश्न: ‘देशमा लोकतन्त्र छ कि बालेनतन्त्र ?’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३१, बिहीबार ११:४८

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले अवलम्बन गरिरहेको शासन प्रणालीप्रति गम्भीर प्रश्न उठाउँदै सभामुखमार्फत सरकारको जवाफ माग गरेको छ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले संविधानको धारा ७४ ले व्यवस्था गरेको बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको हुर्मत लिने काम भएको बताए।

Advertisement

प्रमुख सचेतक महरले बजारमा प्रधानमन्त्री बालेन्द्र शाहले लोकतन्त्र भन्दा पनि ‘बालेनतन्त्र’ विकास गर्न खोजेको चर्चा चलेको उल्लेख गर्दै सरकारको नियतमाथि शङ्का व्यक्त गरे। प्रधानमन्त्रीले पटक-पटक संसद्को उपेक्षा गरेको र संसदीय गरिमा घटाउने काम गरेकोमा एमालेले गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ।

“यो सरकारले संविधानमा भएको शासन प्रणाली अवलम्बन गरेको हो कि अरू कुनै तन्त्र विकास गर्न खोजेको हो ?’ महरले प्रश्न गरे।

सरकार संसद्प्रति उत्तरदायी र जबाफदेही हुनुपर्नेमा जोड दिँदै उनले नीति तथा कार्यक्रममा जनताका प्रश्नको जवाफ दिनुपर्ने बताए। प्रधानमन्त्रीको कार्यशैलीप्रति टिप्पणी गर्दै महरले प्रश्न गरे, ‘प्रधानमन्त्रीले काम गर्दै हुनुहुन्छ भनिए पनि के फेरि सुकुमवासी बस्तीमा डोजर लगाउने तयारी भइरहेको हो ?’

उनले आफूहरूले प्रधानमन्त्रीको अनुहार हेर्न नभई कानुनसम्मत मागहरू पूरा गर्न संसद्मा आवाज उठाएको स्पष्ट पारे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.