वाणिज्य बैंकहरूको ब्याजदर थप घट्यो: मुद्रास्फितिभन्दा पनि तल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३१, बिहीबार १२:२०

काठमाडौँ। वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरमा पुनः केही कटौती गरेका छन्। बैंकहरूमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहेको तर कर्जाको माग न्यून रहेका कारण ब्याजदर लगातार घटिरहेको हो। बिहीबार सार्वजनिक गरिएको नयाँ सूचीअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर वैशाखको तुलनामा ०.०५९५ प्रतिशत बिन्दुले घटेर ४.३४३ प्रतिशतमा झरेको छ।

जेठ महिनाका लागि ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने १३ वटा बैंकले स्थिर राखेका छन्। ब्याजदर घटाउने बैंकहरूमा सिटिजन्स, हिमालयन, कुमारी, नेपाल बैंक, एनआईसी एसिया, एनएमबी र स्ट्यान्डर्ड चार्टर्ड रहेका छन्। अन्य बैंकहरूले भने वैशाखकै दरलाई निरन्तरता दिएका छन्।

Advertisement

अहिलेको मुद्दती निक्षेपको ब्याजदर चैत महिनाको उपभोक्ता मुद्रास्फिति दर (४.४७ प्रतिशत) भन्दा पनि कम हुन पुगेको छ। अधिकांश बैंकको ब्याजदर ४ देखि साढे ४ प्रतिशतको बीचमा छ, जसले वित्तीय क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ। व्यक्तिगत मुद्दतीमा अब कुनै पनि बैंकले ४.८ प्रतिशतभन्दा बढी ब्याज दिने छैनन्। एनएमबी बैंकले ५ वर्ष वा सोभन्दा माथिको अवधिका लागि सबैभन्दा बढी ४.८० प्रतिशत ब्याज तोकेको छ।

निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको आधार दर (बेस रेट) पनि घट्ने र यसले कर्जाको ब्याजदरलाई समेत स्वतः सस्तो बनाउने अपेक्षा गरिएको छ। बैंकहरूमा थुप्रिएको पैसा व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत तरलता खिचिरहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.