
काठमाडौं। सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा सरकारी प्रतिनिधिहरूले यस्तो योजनाबारे जानकारी गराएका हुन्।
समिति सभापति हरि ढकालका अनुसार सहरी विकास मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनको प्रगति विवरण पेस गर्दै उक्त योजना अघि सारेका हुन्।
हाल काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचानका लागि ‘स्क्रिनिङ’ कार्य भइरहेको छ। यो प्रक्रिया सकिएलगत्तै ‘फास्ट ट्रयाक’ बाट लालपुर्जा वितरण गर्ने सरकारको लक्ष्य रहेको छ र यसका लागि आवश्यक स्रोतको सुनिश्चितता भइसकेको सहरी विकास मन्त्रालयले जनाएको छ।
यसका साथै, होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारका बालबालिकाको शिक्षाका लागि विद्यालय बस र सुत्केरी महिलाहरूको पोषणका लागि उचित प्रबन्ध मिलाइएको सरकारी पक्षले दाबी गरेको छ। सरकारले प्रस्तुत गरेको यो विवरण र कार्यप्रगतिको यथार्थ बुझ्न संसदीय समितिले स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ।
वास्तविक सुकुम्बासी पहिचान गरी उनीहरूलाई स्थायी बसोबासको व्यवस्था मिलाउन सरकारले प्राथमिकताका साथ काम भइरहेको बताएको छ।



















