निजी क्षेत्रलाई तर्साउने सरकारको नीति छैन : मुख्यमन्त्री कार्की

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३१, बिहीबार १६:११

विराटनगर । कोशी प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापन कार्यक्रमलाई बिहीबार विराटनगरमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले सरकारले निजी क्षेत्रलाई तर्साएर नभई विश्वासमा लिएर काम गर्ने स्पष्ट पारे ।

Advertisement

मुलुकमा पछिल्लो समय राजनीतिक स्थिरताको वातावरण बनेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘लामो समयपछि राजनीतिक स्थायित्वको आधार तयार भएको छ । यसलाई जोगाउन सत्तापक्षीय दलहरूले जिम्मेवार भूमिका खेल्नुपर्छ । स्थिर सरकार बनेसँगै अबको पाँच वर्षमा नेपाली जनताले राहत महसुस गर्नेछन् ।’

निजी क्षेत्रको मनोबल गिराउने पक्षमा सरकार नरहेको स्पष्ट पार्दै मुख्यमन्त्री कार्कीले भने,‘कर वा कानुनी विषयमा केही समस्या हुन सक्छन्, तर समग्र निजी क्षेत्रलाई तर्साएर उद्योग व्यवसाय तहसनहस बनाउने हाम्रो कुनै मनसाय छैन । हामी निजी क्षेत्रलाई सँगै लिएर हिँड्न चाहन्छौँ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुयष प्याकुरेलले विश्वमा बढ्दो भू–राजनीतिक तनावप्रति सरकार गम्भीर हुनुपर्ने बताए । मध्यपूर्वको तनावले विश्व अर्थतन्त्रमा प्रभाव पारिरहेको बेला नेपाल सरकार भने यसबारे गम्भीर नदेखिएको उनको आरोप थियो ।

महासंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउतले आर्थिक मन्दी र युवा पलायनका कारण उद्योग व्यवसाय संकटमा रहेको बताए । ‘राजनीतिक अस्थिरताले निराश बनेको निजी क्षेत्र अहिलेको स्थिर सरकारबाट आशावादी छ,’ उनले भने,‘सरकारले आयात प्रतिस्थापन गर्न स्वदेशी उद्योग स्थापनाका लागि स्पष्ट र दीर्घकालीन नीति ल्याउनुपर्छ ।’

उनले कोशी प्रदेशमा कृषि, पर्यटन, जलस्रोत र स्वास्थ्य क्षेत्रमा ठूलो सम्भावना रहेकाले यसलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष राजेन्द्र राउतसहित उपाध्यक्षहरू ऋषिराज ढकाल, राजन श्रेष्ठ, रविनकुमार दाहाल र अन्य सदस्य गरी कुल २६ जनाको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका थिए । राउत दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.