
विराटनगर । मोरङमा स्पा व्यवसाय सञ्चालन गर्दै आएकाहरु संगठिन भएका छन् । स्पा व्यवसायी संघ मोरङको तदर्थ समिति गठन गर्दै उनीहरु पहिलोपटक संगठित भएका हुन् ।
फिरोज खानको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा रविन ढुंगाना, सचिवमा सुधीरकुमार मण्डल तथा सदस्यहरुमा निस्मा चाम्लिङ राई, जाबेद आलम, मोहमद अली र निरु राजवंशी रहेका छन् ।
स्पा सञ्चालकको सहभागितामा विराटनगरमा बिहीबार विस्तारित भेला तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । भेलाले प्राकृतिक पद्धतिको मसाज थेरापीमा जोड दिने, स्पा व्यवसायीलाई संगठित बनाउने, व्यवसाय सञ्चालनका लागि आचारसंहिता निर्माण गर्ने, मासिक लेबी र दर्ता शुल्क तोक्ने र नियमित रूपमा व्यवसायको अनुगमन गर्ने निर्णय गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी संघ मोरङका अध्यक्ष सुरज श्रेष्ठ रहेका थिए । उनले नियम, कानुन र परिधिभित्र रहेर समाजमा मर्यादित व्यवसायको उदाहरण पस्किने काम स्पाले गर्नुपर्ने बताए ।
भेलाले श्रेष्ठकै अध्यक्षतामा ५ सदस्यीय सल्लाहकार समितिसमेत गठन गरेको छ । भेलाले व्यवसायी भित्रबाटै ५ सदस्यीय अनुगमन समिति गठन गरेको छ ।


























