
जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आगामी जेठ ८ गतेका लागि विश्वासको मत लिने व्यवस्था मिलाउन सभामुखलाई पत्र पठाएका छन्। सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालले स्पष्ट निर्णय नदिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यतालिका सार्दै सभामुखलाई नयाँ मितिका लागि पत्र पठाएका हुन्।
गत वैशाख २१ गते जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने कार्यक्रम तय भएको थियो। तर जसपा नेपाल विश्वासको मत दिने या नदिने विषयमा अनिर्णीत बनेपछि मुख्यमन्त्रीले आजको कार्यक्रम स्थगित गराएका हुन्।
मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने विषयमा जसपा नेपालभित्र तीव्र मतभेद देखिएको छ। केही सांसदले विश्वासको मत दिनुपर्ने र केहीले दिन नहुने अडान राखेपछि उत्पन्न विवादका कारण मुख्यमन्त्रीले कार्यक्रम सार्न सभामुख रामअषिश यादवलाई पत्र पठाएको स्रोतले जनाएको छ।
जसपा नेपालका एक नेताले पार्टीको बैठक जारी रहे पनि अहिलेसम्म कुनै निर्णय हुन नसकेको बताए। उनले विश्वासको मत लिने कार्यक्रम सर्नुमा आफ्नो पार्टी मात्र कारण नभएको दाबी गरे। नेपाली कांग्रेसकै केही नेताले फ्लोर क्रस गर्ने तयारी गरेको सुइँको पाएपछि मुख्यमन्त्रीले यस्तो कदम चालेको ती नेताको भनाइ छ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रक्रिया अगाडि बढाएको भए जसपा नेपाल कुनै न कुनै निर्णय लिन बाध्य हुने अवस्था थियो। तर कांग्रेसभित्रै विवाद चर्किएपछि नयाँ परिस्थिति उत्पन्न भएको हो। हाल जसपा नेपालको बैठक जारी नै रहेको छ।
यसैबीच जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिए पनि सो पार्टीका दुई मन्त्री महेश यादव र वसन्त कुशवाहा अझै सरकारमै रहेका छन्। यद्यपि जनमत पार्टीका संसदीय दलका नेता चन्दन सिंहले विश्वासको मतको पक्षमा मतदान नगर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेका छन्।

























