
काठमाडौं। साताको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सीमान्त सुधार देखिएको छ। शुक्रबार बजार परिसूचक १.७७ अंक अर्थात् ०.०६ प्रतिशतले बढेर २,७३१.९४ बिन्दुमा पुगेको हो।
शुक्रबार नेप्सेका १३ उपसूचकमध्ये सात उपसूचक सामान्य रूपमा बढे भने ६ उपसूचकमा गिरावट आयो। घटबढ भएका उपसूचकमध्ये कुनैको पनि एक प्रतिशतभन्दा बढी उतारचढाव भएन।
बजारमा आज कुल ३ सय ३८ कम्पनीका ७९ लाख ३४ हजार ४ सय ४४ कित्ता सेयर खरिद-बिक्री भयो। शुक्रबार दिनभरिमा ४३ हजार ६ सय ७४ कारोबारबाट कुल ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४ सय ८६ रुपैयाँ बराबरको किनबेच भएको छ।
नेप्से परिसूचकसँगै अन्य उपपरिसूचकमा पनि सामान्य बढोत्तरी देखिएको छ। सेन्सेटिभ इन्डेक्स ०.३४ अंक बढेर ४६७.५५ मा पुगेको छ भने फ्लोट इन्डेक्स ०.०४ अंक बढेर १८५.३५ मा कायम भएको छ। सेन्सेटिभ फ्लोट इन्डेक्स ०.0९ अंकको वृद्धिसहित १५७.४९ पुगेको छ।
आज कारोबार भएका कम्पनीमध्ये १ सय २७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २० कम्पनीको मूल्यमा गिरावट आएको छ। २२ वटा कम्पनीको मूल्य भने स्थिर रह्यो।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ३० करोड ६६ लाख ४९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। यस्तै अपी पावर कम्पनीको ११ करोड ४४ लाख रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको ८ करोड ६३ लाख रुपैयाँको कारोबार भयो।
आजको बजारमा नबिल डिबेन्चर २०८९ का लगानीकर्ताले सर्वाधिक ७.७१ प्रतिशत नाफा कमाएका छन्। मूल्य बढ्ने अन्य कम्पनीमा मोदी इनर्जी लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेड अग्रस्थानमा रहे।
यस दिन केही कम्पनीको मूल्यमा भने उल्लेख्य गिरावट देखिएको छ। युनियन हाइड्रोपावरको मूल्यमा ७९ अंकको गिरावट आउँदा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ७० अंकले घटेको छ।



















