
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका निर्माणका लागि समिति गठन गर्ने निर्णय गरेको छ। शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमिति बैठकले उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शम्सेर राणा र सहमहामन्त्री प्रकाश रिमाल रहेको तीन सदस्यीय समिति गठन गरेको हो।
अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार समितिलाई आगामी कार्यसमितिको बैठकमा पेस गर्ने गरी महाधिवेशन कार्यतालिका बनाउने जिम्मेवारी दिइएको छ। यसैगरी बैठकले आगामी महाधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न जेठ २८ र २९ गते काठमाडौँमा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बोलाउने निर्णय गरेको छ।
बैठकमा सातै वटा प्रदेशको समीक्षा बैठकबाट आएका सुझावहरू सचिवालय महामन्त्री राजेन्द्र गुरुङले प्रस्तुत गरेका थिए र त्यसमाथि पनि छलफल भएको लिङ्देनले जानकारी दिए। अध्यक्ष लिङ्देनले राप्रपा अब महाधिवेशनतर्फ उन्मुख भएको भन्दै निर्वाचनका कारण स्थगन गरिएका स्थानीय र जिल्ला अधिवेशनहरूलाई पनि निरन्तरता दिने निर्णय भएको बताए। पार्टीले आगामी दिनमा आफ्नो संगठन विस्तार र महाधिवेशनको तयारीलाई सँगसँगै लैजाने योजना बनाएको छ।



















