
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेकाे छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।
दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली, पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी प्रदेशका केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशको हिमाली, पहाडी भूभाग र मधेस प्रदेशको एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
विभागले राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
कोशी प्रदेशको थोरै स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

























