
विराटनगर। नवग्रहमध्येका न्यायका देवता मानिने ग्रहराज शनिको जन्मोत्सव आज विराटनगरसहित मुलुकभर श्रद्धा र भक्तिका साथ मनाइँदै छ। प्रत्येक वर्षको ज्येष्ठ कृष्ण औँसीका दिन शनि जयन्ती मनाउने धार्मिक परम्परा रहेको छ।
यस अवसरमा विराटनगरका विभिन्न शनि मन्दिर तथा नवग्रह पीठहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। विशेषगरी साढेसाती, अढैया वा शनिको दशा चल्नेहरूले ग्रहको अनिष्ट शान्त पार्न र समाजमा सुख–शान्तिको कामना गर्दै विशेष पूजा–आराधना गरिरहेका छन्।
धार्मिक मान्यताअनुसार शनिदेवलाई सूर्यपुत्र तथा न्याय र कर्मको फलदाता मानिन्छ। मानिसले गर्ने असल वा खराब कर्मको आधारमा शनिदेवले न्यायोचित फल दिने विश्वास गरिन्छ। शनिको कृपा भएमा रङ्क पनि राजा बन्न सक्ने र रुष्ट भएमा ठुलो सङ्कट आइलाग्ने जनविश्वासका कारण आजको दिनलाई धार्मिक रूपमा निकै महत्त्वपूर्ण मानिएको हो।
शनि जयन्तीका दिन तोरीको तेल, कालो तिल, कालो कपडा, फलामका सामग्री तथा मासको दाल दान गर्नाले शनिदोषबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ। विराटनगरका स्थानीय मन्दिरहरूमा आज महायज्ञ, भजनकीर्तन र विशेष महाआरतीको समेत आयोजना गरिएको छ।
सफाइ र अनुशासन मन पराउने देवताका रूपमा चिनिने शनिको पूजा गर्दा नीलो वा कालो रङको प्रयोग बढी गरिन्छ। आजको दिन पीपलको बोटमा जल चढाएर तोरीको तेलको दियो बाल्नाले पारिवारिक सुख र समृद्धि मिल्ने पुरोहितहरू बताउँछन्।




















