
काठमाडौं।मिथिलाञ्चल क्षेत्रमा आज विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायु र सन्तान प्राप्तिको कामना गर्दै सांस्कृतिक एवं धार्मिक पर्व ‘वटसावित्री’ (बरसाइत) मनाइरहेका छन्। प्रत्येक वर्ष ज्येष्ठ महिनाको औँसी तिथिका दिन मनाइने यस पर्वका अवसरमा शनिबार बिहानैदेखि विभिन्न स्थानमा रहेका बरको रूखमुनि पूजा अर्चना गर्ने महिलाहरूको उल्लेख्य भीड लागेको छ।
मिथिला संस्कृतिमा आदर्श नारीत्वको प्रतिक मानिने यस पर्वमा महिलाहरू नयाँ वस्त्र तथा श्रृङ्गारका सामग्रीहरूमा सजिएर पूजामा सहभागी हुने गर्दछन्। विशेषगरी नवविवाहित महिलाहरूका लागि यो पर्व थप विशेष रहने गर्दछ। नववधुहरूका लागि यस अवसरमा बेहुलाको घरबाट पूजा सामग्रीका साथै लुगाकपडा र अन्य उपहार (पाहुर) पठाउने परम्परा रहेको छ। हिन्दु धर्मावलम्बीहरूले पिपलझैँ बरको रूखलाई पनि पवित्र र पूजनीय मान्ने गर्दछन्।
वटसावित्रीका दिन व्रतालु महिलाहरूले बरको रूखमा सुतीको काँचो धागो बेरेर पूजा गर्ने र यस पर्वको पौराणिक कथा श्रवण गर्ने प्रचलन छ। यस पर्वलाई नारीत्वको रक्षा र सन्तान प्राप्तिमा सहायक सिद्ध हुने विश्वासका साथ लिइने गरिन्छ। पौराणिक मान्यताअनुसार सावित्रीले आफ्नो सतीत्व र घोर तपस्याको बलले मृत्युका देवता यमराजबाट पति सत्यवानको प्राण फिर्ता ल्याउन सफल भएकी थिइन्। सोही ऐतिहासिक र आध्यात्मिक घटनाको स्मरणमा परापूर्वकालदेखि नै मिथिलाञ्चलमा यो पर्व हर्षोल्लासका साथ मनाइँदै आएको छ।

























