
धनुषा। यसवर्ष प्रि-मनसुनमै लगातार वर्षा भए पनि मनसुनका बेला मधेशसहितका चार प्रदेशमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएपछि किसानहरू चिन्तामा परेका छन्। असन्तुलित वर्षा र अब हुने खडेरीका कारण यसवर्ष मुख्य खेतीको समयमै धानको ब्याड सुक्ने वा नष्ट हुने जोखिम बढेको छ।
यसले धान उत्पादनमा समेत ह्रास ल्याउने देखिएको छ। हरेकजसो सरकारले कृषिलाई प्राथमिकता दिँदै आइरहेको बताए पनि सिँचाइको न्यूनतम व्यवस्था समेत मिलाउन नसक्दा हरेक वर्ष धान रोप्ने समयमा किसानहरूको चिन्ता बढ्ने गरेको छ।
जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा मौसमी चक्र पूर्णरूपमा बिग्रिएको छ। प्रि-मनसुन वैशाखमा असामान्य भारी वर्षा र हावाहुरी चल्ने तर जेठ असारमा सुक्खा खडेरीको क्रम बढेको छ। गत वर्ष बर्खाको दुई महिना तराई-मधेशमा खडेरी भए पनि देशभर मनसुन सिजनमा भने सरदर पानी परेको थियो।
तर, यसपटक भने प्रि-मनसुनमा मौसम अनुकूल रहे पनि वर्षाको सुरूवातबाटै गर्मी झेल्नुपर्ने र खडेरी खेप्नुपर्ने संकेत देखिएको छ। वैशाखमा परेको पानीले मौसम शीतल बनाए पनि कृषिमा भने क्षति नै पुगेको छ। यस वर्षाको प्रत्यक्ष प्रभाव मुंग, तिल, तरकारी लगायतका बालीमा परेको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनमा मधेश, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। कम वर्षाको सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको महाशाखाको आकलन छ।
जेठ १८ देखि असोज १४ सम्म पानी कम पर्ने र अधिकतम तथा न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने प्रक्षेपण छ। धान रोप्ने यही समयमा खडेरी पर्ने भएकाले आकाशे पानीमा निर्भर किसानहरू प्रत्यक्ष मारमा पर्ने देखिएको छ। बाली चक्र बिग्रँदा कृषि उत्पादनमा समेत ह्रास आउने निश्चित छ।
संघीय सरकारको निर्देशनअनुसार मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खडेरी र सुक्खाको जोखिमबाट बँच्न किसानहरूलाई कम पानीमा उत्पादन दिन सक्ने धानका जातहरू छनोट गर्न अनुरोध गरेको छ।
यसका साथै दीर्घकालीन समस्या समाधानका लागि वैकल्पिक खेती प्रणाली, आकाशे पानी संकलन, खेत नजिकै पोखरी निर्माण र छरुवा धान खेती प्रविधि अपनाउन जोड दिइएको छ। असन्तुलित वर्षा, सुक्खा खडेरी र सिँचाइ अभावमा अन्न उत्पादनका लागि उर्वर मधेशमा धान उत्पादनमा ह्रास हुँदै गएको छ।
धान रोपाइँको समयमा पानी नपरेको र दाना फस्टाउने बेला ठूलो पानी परेकाले धान उत्पादनमा असर गरेको थियो। प्रदेश कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा ३ लाख ७४ हजार ९ सय १० हेक्टरमा १४ लाख ४१ हजार ४ सय ७९ मेट्रिक टन धान उत्पादन भएको थियो, जुन प्रतिहेक्टर ३ दशमलव ८४ मेट्रिक टन थियो। तर, गएको वर्ष प्रतिहेक्टर उत्पादकत्व घटेर ३ दशमलव ६४ मेट्रिक टन भई १२ लाख ९ हजार १८ मेट्रिक टन मात्र धान उत्पादन भएको थियो।

























