
विराटनगर । नेपाली क्रिकेटका अम्पायर भास्कर अर्यालको ४६ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । विराटनगर–४ घर भएका अर्याल विगत एक महिनादेखि जन्डिस रोगबाट पीडित थिए ।
स्वास्थ्यमा जटिलता देखिएपछि उनको दुई सातासम्म कोसी अस्पतालमा उपचार गरिएको थियो । चिकित्सकले थप उपचार सम्भव नरहेको जानकारी दिएपछि उनलाई गत आइतबार अस्पतालबाट घर ल्याइएको थियो । घरमै उपचार र हेरचाहका क्रममा आज (आइतबार) बिहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
अर्याल विगत दुई दशकदेखि क्रिकेट अम्पायरिङमा निरन्तर सक्रिय रहँदै आएका थिए । क्रिकेटका ‘लेभल–वान’ अम्पायर रहेका उनले स्थानीयदेखि विभिन्न स्तरका प्रतियोगिताहरूमा अम्पायरिङ गर्दै खेलको विकास र व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए ।
क्रिकेट खेलप्रतिको लगाव र निरन्तरको सक्रियताका कारण उनी खेलकर्मीमाझ लोकप्रिय थिए । क्रिकेटका साथै उनले करिब १० वर्ष कान्तिपुर पब्लिकेसन्सको विराटनगरस्थित छापाखानामा प्रेस सहयोगीका रूपमा काम गरेका थिए ।
अर्यालको असामयिक निधनप्रति नेपाल क्रिकेट संघ (क्यान) र कोसी प्रदेश क्रिकेट संघले गहिरो दुःख व्यक्त गरेका छन् । दुवै संस्थाले सामाजिक सञ्जालमार्फत शोक विज्ञप्ति जारी गर्दै अर्यालको निधनले नेपाली क्रिकेटको विकासमा ‘अपूरणीय क्षति’ पुगेको उल्लेख गरेका छन् । अर्यालका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।



















