
काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणमा कीर्तिमान बनाएका कामिरिता शेर्पा र लाक्पा शेर्पालाई प्रधानन्त्री बालेन शाहले बधाई दिएका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत ३२औं पटक सगरमाथाको सफल आरोहण गरेका कामिरिता र ११ औं पटक सगरमाथा आरोहण गरेकी लाक्पालाई बधाई दिएका हुन् ।
कामिरिताले आज बिहान १०ः १२ बजे र लाक्पाले बिहान साढे ९ बजे सगरमाथा आरोहण गरेका हुन् ।
‘विश्वको सर्वोच्च शिखर सगरमाथा केवल एउटा भौगोलिक उचाइको अवयव मात्रै होइन, नेपालको आत्मसम्मान, साहस, धैर्य र हिमाली सभ्यताको सर्वोच्च प्रतीक हो। यही गौरवशाली हिमालमाथि आज नेपाली आरोहीहरूले पुनः इतिहास लेखेका छन्,’ बालेनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,’निरन्तरको अदम्य साहस, कठोर आत्मअनुशासन र कर्मप्रतिको इमान्दार समर्पणले मात्रै यस्तो ऐतिहासिक सफलता प्राप्त हुन सक्दछ । खुसीको यो क्षणलाई सबैजनासँग साझा गर्दै दुबैजना आरोहीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’



















