
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका दुई महिला कर्मचारीले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन् ।
सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले आइतबार बिहान सगरमाथाको चुचुरोमा पुग्दै संगठनभित्र नयाँ इतिहास बनाएका हुन् । कार्की बिहान १०ः२० बजेतिर र शेर्पा बिहान ११ः५५ बजेतिर सगरमाथाको शिखरमा पुगेका थिए ।
संगठनका तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो कर्मचारी बनेका छन् भने महिला कर्मचारीका रूपमा यो पहिलो सफल आरोहण हो । इलामकी शेर्पा र रामेछापकी कार्की दुवैले यसअघि चुलु फार इष्ट र लोबुचे हिमालसमेत आरोहण गरिसकेका थिए ।
कार्की राष्ट्रियस्तरकी फेन्सिङ खेलाडीसमेत हुन् । सशस्त्र प्रहरीले उनीहरूको सफलताले संगठनभित्र महिला क्षमता, नेतृत्व र सहभागितालाई थप प्रेरणा मिल्ने जनाएको छ ।


















