
काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ । यही प्रणालीका कारण आज (सोमबार) बिहान कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहने सम्भावना छ । कर्णाली प्रदेशको हिमाली भू–भाग र मधेश प्रदेशमा पनि आंशिक बदली हुन सक्ने बताइएको छ । अन्य स्थानमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
अबको केही घण्टामा कोशी प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली एवं पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
मौसमविद्ले वर्षा र चट्याङको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन् ।


















