तराईमा बढ्दो गर्मी, विराटनगरको तापक्रम ३४ डिग्रीसम्म पुग्ने अनुमान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार १२:०३

विराटनगर । जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमानअनुसार देशको तराई क्षेत्रमा गर्मी बढ्दो क्रममा रहेको छ ।

सोमबार तराईका अधिकांश जिल्लामा ‘तातो दिन’ महसुस हुने विभागले जनाएको छ । पूर्वी तराईको प्रमुख सहर एवं कोशी प्रदेशको राजधानी विराटनगरमा पनि तापक्रम उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ ।

Advertisement

विभागका अनुसार विराटनगरमा सोमबार दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहे पनि अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियससम्म पुग्नेछ । रातिको समयमा भने मौसम आंशिक बदली रहने पूर्वानुमान छ । न्यूनतम तापक्रम २४ देखि २६ डिग्री सेल्सियस रहनेछ ।

देशभरमध्ये सबैभन्दा बढी गर्मी नेपालगन्जमा हुने अनुमान गरिएको छ । त्यहाँ अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने विभागले जनाएको छ । त्यस्तै दिपायल, धनगढी र भैरहवामा पनि तापक्रम ३८ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ । यी क्षेत्रमा दिउँसो अत्यधिक गर्मी महसुस हुने बताइएको छ ।

वीरेन्द्रनगर, घोराही, सिमरा र जनकपुरमा पनि तापक्रम ३४ देखि ३७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । तराईका अधिकांश क्षेत्रमा रातिको समयमा मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।

पहाडी तथा हिमाली क्षेत्रमा भने वर्षाको सम्भावना देखिएको छ । पोखरा, धनकुटा र ताप्लेजुङमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । काठमाडौँ, ओखलढुंगा, जिरी र जोमसोममा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

विभागले अत्यधिक गर्मीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । विशेषगरी दिउँसोको समयमा अत्यधिक घाममा ननिस्किन, प्रशस्त पानी पिउन र बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.