
काठमाडौं । परराष्ट्र मन्त्रालयले इरानमा थुनामा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्दै यसअघि सार्वजनिक गरिएको सूचनाप्रति माफी मागेको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै झा अझै इरानकै हिरासतमा रहेको स्पष्ट पारेको हो ।
मन्त्रालयका अनुसार झालाई २०२६ जनवरी सुरुमा इरानको केश्म आइल्यान्डबाट अवैध सामान तस्करीको आरोपमा अन्य विदेशी नागरिकसँगै पक्राउ गरिएको थियो । हाल उनी बन्दर अब्बासस्थित कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।
परराष्ट्रले २०२६ अप्रिल १५ मा इरानका लागि नेपाली अनररी कन्सल शाहराम शान्तियाइबाट प्राप्त अनौपचारिक सूचनाका आधारमा झा रिहा भएको जानकारी सार्वजनिक गरिएको जनाएको छ । सोही आधारमा परराष्ट्रमन्त्री शिशिर खनालले पनि सामाजिक सञ्जालमार्फत झा रिहा भएको उल्लेख गरेका थिए ।
तर, पछि प्राप्त विवरणअनुसार झा रिहा नभएको र अदालतले मुद्दासम्बन्धी ‘एक्सपर्ट रिपोर्ट’ तयार गर्न आदेश दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गलत सूचना सार्वजनिक हुँदा उत्पन्न अन्योलप्रति क्षमायाचना गर्दै झाको निष्पक्ष सुनुवाइ एवं रिहाइका लागि कूटनीतिक पहल जारी रहेको बताएको छ ।

























