सुकुम्वासी बस्तीमा ‘डोजर आतंक’ बन्द गर्न माग गर्दै विराटनगरमा प्रदर्शन  

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार १७:१९

विराटनगर । काठमाडौंलगायतका विभिन्न स्थानमा सुकुम्वासी बस्तीहरूमा विना विकल्प डोजर चलाइएको भन्दै मोरङका भूमिहीन सुकुम्वासीहरू आन्दोलित भएका छन् ।

विराटनगरमा भूमिहीन सुकुम्वासीहरुले सोमबार प्रदर्शन गरेका छन् । संयुक्त संघर्ष समिति मोरङको आह्वानमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको छ ।

Advertisement

समिति संयोजक निशा किरण राई नेतृत्वको टोलीले काठमाडौंको सुकुम्वासी बस्तीमा भएको बल प्रयोगलाई ‘अमानवीय’ र ‘गैरजिम्मेवार’ कदमको संज्ञा दिएको छ । ज्ञापनपत्रमा बालबालिका, महिला, ज्येष्ठ नागरिक र अशक्तहरूको संवेदनशीलतालाई समेत ख्याल नगरी डोजर प्रयोग गरेर उठिबास गराइएको भन्दै देशभरका सुकुम्वासीहरूमा त्रास फैलिएको उल्लेख गरिएको छ ।

संघर्ष समितिले वर्तमान सरकार र स्थानीय प्रशासनले नेपालको संविधान २०७२ ले ग्यारेन्टी गरेको मौलिक हकको उल्लंघन गरेको आरोप लगाएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘संविधानको धारा ३७ ले प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक दिएको छ भने धारा ५१ मा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने राज्यको नीति छ । तर, सरकारले आफ्नै संविधान र कानुनविपरीत नागरिकलाई घरबारविहीन बनाउँदै छ ।’

यसका साथै, नेपाल सदस्य राष्ट्र भएको नाताले संयुक्त राष्ट्र संघको मानव अधिकार सम्बन्धी घोषणापत्र र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी अभिसन्धिको समेत बर्खिलाप हुने गरी राज्य प्रस्तुत भएको समितिको ठहर छ । समितिले सरकार समक्ष ४ बुँदे माग राख्दै तत्काल कार्यान्वयन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

उनीहरूले सुकुम्वासी बस्तीमा भइरहेको डोजर आतंक तत्काल बन्द गर्नुपर्ने, सुकुम्वासीहरूको अर्थपूर्ण सहभागिता रहने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, वास्तविक सुकुम्वासीको पहिचानका लागि नगर र वडा तहबाटै लगत संकलन गरी उचित व्यवस्थापन गर्नुपर्ने तथा ऐलानी र पर्ती जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीनहरूलाई यथाशीघ्र धनी पुर्जा वितरण गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन थालेका हुन् ।

खोला किनारका जोखिमपूर्ण बस्तीहरूलाई तटबन्ध गरी सुरक्षित बनाउन र सुकुम्वासी तथा हुकुमवासीको नाममा वास्तविक पीडितलाई भ्रममा पार्ने कार्य बन्द गर्न समेत समितिले माग गरेको छ ।

समिति संयोजक संयोजक निशा किरण राईका अनुसार भूमि ऐन २०२१ को ८ औँ संशोधनले भूमिहीनका लागि भूमि आयोगमार्फत जग्गा उपलब्ध गराउने व्यवस्था गरेको भए पनि सो प्रक्रियालाई लत्याएर बल प्रयोग गरिनु लोकतन्त्रको उपहास हो । मागलाई बेवास्ता गरिए आन्दोलनलाई थप सशक्त बनाइने उनको चेतावनी छ ।

तपाइको प्रतिक्रिया
ओलीको सचिवालय प्रमुखमा पाल
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको फिर्ता पाउन थाले बचत
एमालेले विद्या भण्डारीलाई दियो पार्टी सदस्यता
पूर्वमा पहिलो पटक राउटे मेला : उत्साहसँगै सामाजिक संवेदनशीलतामाथि प्रश्न
सर्वाेच्चका श्रीमान दुई कित्तामा, कामुको आदेशमा देखियो झगडा
सुकुम्वासी बस्तीमा ‘डोजर आतंक’ बन्द गर्न माग गर्दै विराटनगरमा प्रदर्शन  
परराष्ट्र मन्त्रालयले माफी माग्यो
मोरङबाट निर्वाचित रास्वपा सांसदमाथि गम्भीर आरोप, विदेशी युवतीलाई गर्भवती बनाएर ‘गायब’
संवैधानिक प्रावधानविपरीत सत्तारुढ सांसदले उठाए प्रश्न
कोशीको खेलकुद बोर्डमा राजनीतिक भागबन्डा अन्त्य गरियोस्
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.