
विराटनगर । विराटनगरमा सञ्चालित गञ्जी उद्योगमा आगलागी भएको छ । विराटनगर महानगरपालिका- १० तीनटोलियामा रहेको कामत गञ्जी उद्योगमा आइतबार राति अचानक आगलागी भएको हो ।
स्थानीय विजय कामतले सञ्चालन गरेको उद्योगमा आगलागी भएको जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विराटनगरबाट प्रहरी निरीक्षक बेनुकुमार कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरी, स्थानीय बासिन्दा र दमकलले राति नै आगो नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार आगलागीबाट उद्योग ध्वस्त भएको छ । कामतले प्रहरीसमक्ष करिब ९० लाख बराबरको क्षति भएको बताएका छन् ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

























