
विराटनगर । विराटनगर महानगरपालिका–१४ मा रहेको राधाकृष्ण राईस मिल अगाडि एक जना पुरुषको शव फेला परेको छ । कोशी लोकमार्गको सडक किनारमा अचेत अवस्थामा फेला परेका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।
अन्दाजी ४५–५० वर्षका देखिने पुरुष सोमबार दिउँसो ४ बजेतिर सडक किनारमा लडिरहेको अवस्थामा फेला परेका थिए । स्थानीयको सहयोगमा प्रहरीले उनलाई उद्धार गरी कोशी अस्पताल पठाएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















