
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाली शेर्पा आरोहीहरूले फेरि नयाँ इतिहास रचेका छन् । चालु वसन्त आरोहण सिजनमा पुरुष र महिलातर्फका सबै प्रमुख विश्व कीर्तिमान नेपालीहरूको नाममा कायम भएपछि हिमाल आरोहण क्षेत्रमा नेपालको वर्चस्व थप मजबुत बनेको छ ।
५६ वर्षीय कामिरिता शेर्पाले गत आइतबार ३२औंपटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानलाई अझ उचाइमा पुर्याए । सन् १९९४ देखि आरोहण सुरु गरेका उनले संसारमै सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने कीर्तिमान कायम राखेका छन् ।
उही दिन ल्हाक्पा शेर्पाले ११औं पटक सगरमाथा आरोहण गरेर महिलातर्फको विश्व रेकर्ड थप बलियो बनाइन् । विश्वका कुनै पनि महिला आरोही ल्हाक्पाको कीर्तिमान नजिक पुग्न सकेका छैनन् । अमेरिकामा बस्दै दुई छोरी हुर्काइरहेकी ल्हाक्पाको उपलब्धिलाई नेपाली महिला शक्तिको ऐतिहासिक सफलता मानिएको छ ।
कामिरिताले कीर्तिमान बनाएको २४ घन्टा नबित्दै पासाङ दावा शेर्पाले सोमबार बिहान ३०औं पटक सगरमाथा आरोहण गरेर इतिहासमै ३० पटक चुचुरो पुग्ने दोस्रो व्यक्ति बने । सन् १९९८ देखि आरोहण सुरु गरेका पासाङ दावा र कामिरिताबीचको कीर्तिमानी प्रतिस्पर्धा अहिले विश्व पर्वतारोहण क्षेत्रकै चर्चित विषय बनेको छ ।
हाल सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने शीर्ष तीन स्थानमै नेपाली शेर्पाहरू रहेका छन् । कामिरिता ३२ आरोहणसहित पहिलो, पासाङ दावा ३० आरोहणसहित दोस्रो र ङिमा नुरु शेर्पा २६ आरोहणसहित तेस्रो स्थानमा छन् ।
चालु सिजनमा नेपाल सरकारले सगरमाथा आरोहणका लागि ४ सय ९४ जनालाई अनुमति दिँदै १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी रोयल्टी संकलन गरिसकेको छ । सगरमाथा पर्यटन र राजस्वको स्रोत मात्र नभई विश्व पर्वतारोहण इतिहासमा नेपाली शेर्पाहरूको अद्वितीय प्रभुत्वको प्रतीक बनेको छ ।
पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका एक हजार १८१ आरोहीले अनुमति लिएका छन् । विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए ।
हालसम्म सगरमाथा आरोहणका लागि ५५ देशका ४ सय ९४ आरोहीले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै १ सय ९ चिनियाँ नागरिकले अनुमति लिएका छन् ।
यसबाहेक सगरमाथाकै लागि अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्ट्रेलियाका १५, जापानका १४, नेपालका १२, ब्राजिलका १० जनाले अनुमति लिएको सूचना अधिकारी गौतमले बताए । यसबाहेक, ल्होत्सेका लागि १४३, आमादब्लमका लागि १११, नुप्त्सेका लागि ५६, हिम्लुङका लागि ४६, कञ्चनजंघाका लागि ३६, धवलागिरिका लागि ३० जनाले अनुमति लिएका छन् । यसबाहेक अन्य हिमाल आरोहणका लागि पनि अनुमति जारी गरिएको छ ।



















