सुनसरी र मोरङमा दुर्घटना : बालकसहित दुई जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार ०७:५९

विराटनगर । सुनसरी र मोरङमा दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । सुनसरीमा बुधबार बिहान दुर्घटना भएको हो भने मोरङमा दुई दिनअघिको दुर्घटनाका घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोशी लोकमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–२० पानीपियामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ जाँदै गरेको एनएस मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबीचको डिभाइडरमा ठोक्किएर बिहानका राति १ः५० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार झापाको अर्जुनधारा नगरपालिका–३ का २२ वर्षीय निशान थापाको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहानका राति ३ बजेतिर मृत्यु भएको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले बताए ।

उनका अनुसार दुर्घटनामा परेको मोटरसाइकल लिएर चालक मोरङको बूढीगंगा गाउँपालिकास्थित टंकीसिनवारीका २२ वर्षीय अभिषेक राई फरार भएका छन् । मोटरसाइकल लिएर चालक फरार भएका कारण नम्बर पनि खुल्न सकेको छैन ।

फरार भएका चालकको खोजी गर्दै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

त्यस्तै, मोरङको सुनवर्षीमा २ दिनअघि दुर्घटनामा परेर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको छ । ईभी साइकलको ठक्करबाट घाइते भएका सुनवर्षी नगरपालिका–९ का १० वर्षीय तोहित मियाँको मंगलबार राति ११ः२० बजेतिर मृत्यु भएको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार सुनवर्षी–९ खुनियाबारीस्थित भित्री पक्की सडक खण्डमा डाइनियाबाट खिर्कीडाँगीतर्फ जाँदै गरेको ईभी साइकलले पैदल हिँडिरहेका मियाँलाई सोमबार राति ९ बजेतिर ठक्कर दिएको थियो । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल विराटनगरमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ईभी साइकलका चालक सुनवर्षी–४ का १८ वर्षीय निलेश दास र साइकललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.