
झापा । भारतले नेपाली चियामा लागू गरेको अनिवार्य नमुना परीक्षणको व्यवस्था फिर्ता लिएपछि नेपालबाट भारततर्फ हुने चिया निर्यात पुनः सहज बनेको छ । तीन सातादेखि अवरुद्ध बनेको निर्यात अब पूर्ववत् सञ्चालन हुने भएको हो ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको ‘टी बोर्ड अफ इन्डिया’ले मंगलबार राति संशोधित सूचना जारी गर्दै आन्तरिक खपतका लागि आयात हुने चियामा अनिवार्य परीक्षण नलाग्ने व्यवस्था गरेको हो । यससँगै प्रत्येक ट्रक रोकेर नमुना परीक्षण गर्नुपर्ने बाध्यता हटेको छ ।
यसअघि भारतले नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ लागू गर्दै प्रत्येक ट्रकपिच्छे ११ हजार १ सय २० भारतीय रुपैयाँ शुल्क तिरेर नमुना परीक्षण गर्नुपर्ने व्यवस्था गरेको थियो । परीक्षण रिपोर्ट आउन कम्तीमा दुई साता लाग्ने भएपछि नेपाली चिया निर्यात ठप्पजस्तै बनेको थियो ।
भारतस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयको पहलपछि भारतीय पक्ष लचक बनेको कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले बताए । उनका अनुसार भारत सरकारसँगको निरन्तर संवादपछि समस्या समाधान भएको हो ।
नयाँ व्यवस्थाअनुसार भारतको आन्तरिक बजारमा जाने चियामा टी बोर्डले परीक्षण गर्ने छैन । यद्यपि, भन्सार वा भारतीय खाद्य सुरक्षा निकायले जोखिम व्यवस्थापन प्रणालीअनुसार छड्के रूपमा नमुना परीक्षण गर्न सक्नेछन् ।
तर, भारतमा आयात भएर तेस्रो मुलुकमा पुनः निर्यात हुने चियामा भने कडा परीक्षण यथावत् रहनेछ । टी बोर्डले परीक्षण प्रतिवेदन पाँच दिनभित्र अनलाइन अपलोड गर्नुपर्ने व्यवस्था पनि लागू गरेको छ ।
नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले हालका लागि निर्यात पूर्ण रूपमा खुला भएको बताए । नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनालीले भारतीय निर्णयले किसान र व्यवसायीलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् ।
गत आर्थिक वर्षमा नेपालले भारततर्फ करिब ३ अर्ब ९८ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको थियो ।



















