हुम्ला–बाजुरा विवाद चर्कियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ७, बिहीबार ०६:११

बाजुरा । हुम्ला र बाजुराको सीमा क्षेत्रमा चार दिनदेखि जारी विवाद हिंसात्मक बनेपछि ६ जना घाइते भएका छन् । गम्भीर घाइते भएका चार जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बाजुराको हिमाली गाउँपालिका–३ का वडा सदस्य ३४ वर्षीय पेमा गारा गुरुङ, उनकी श्रीमती ३३ वर्षीया लक्ष्मी गुरुङ, २४ वर्षीया मीनु कुँवर र ५० वर्षीय नरबहादुर गुरुङलाई थप उपचारका लागि हेलिकप्टरबाट लगिएको प्रहरीले जनाएको छ । अन्य दुई घाइते हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा र प्रहरी सहायक हवल्दार महेश धामी सामान्य उपचारपछि काममा फर्किएका छन् ।

Advertisement

बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटा र हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीयबीच पुरानो सीमा विवादका कारण तनाव बढेको हो । पछिल्लो समय लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माण सुरु भएपछि विवाद थप चर्किएको बताइएको छ ।

प्रहरीका अनुसार जेठ ३ गतेदेखि सुरु भएको विवाद समाधान हुन सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेर निर्माण सामग्रीसमेत पुर्‍याइएपछि हुम्लातर्फका स्थानीयले विरोध जनाएका थिए ।

बाजुरा प्रहरी निरीक्षक नरेश शाहीका अनुसार ५ गते हुम्लाबाट ठूलो संख्यामा आएका स्थानीयले कुटपिट गरेपछि अवस्था तनावग्रस्त बनेको हो । बुधबार पनि स्थानीयले बाजुराको धुलाचौर क्षेत्रमा सडक अवरुद्ध गर्ने प्रयास गरेका थिए । प्रहरीले हस्तक्षेप गरेर सडक खुलाएको छ ।

स्थानीयवासीले सीमा विवाद समाधान नगरी आफूहरूले पशुचौपाया चराउने तथा जडीबुटी संकलन गर्ने क्षेत्रमा प्रहरी चौकी बनाउन नहुने माग राखेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.