
काठमाडौं । मनसुन सुरु हुन लागेसँगै नेपाली सेनाले बाढी, पहिरो र अन्य विपद् व्यवस्थापनका लागि देशव्यापी तयारी तीव्र बनाएको छ । विगतका विपद्बाट प्राप्त अनुभवका आधारमा यस वर्ष पूर्वतयारी तथा प्रतिकार्य योजना लागू गरिएको सेनाले जनाएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जिल्लास्थित गण र गुल्ममा तत्काल परिचालन गर्न सकिने गरी फौज तयारी अवस्थामा राखिएको छ । सातै प्रदेशका पृतनामा विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली आवश्यक उपकरणसहित तैनाथ गरिएको छ ।
दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन हेलिकप्टरसहित हवाई साधन तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ । काठमाडौंका अतिरिक्त सुर्खेत र इटहरीमा एक–एक हेलिकप्टर ‘स्ट्यान्डबाइ’ राखिएको छ । मौसमको अवस्थाअनुसार अन्य हवाई साधन पनि पूर्वतैनाथ गरिने योजना रहेको छ ।
बाढी र पहिरोका कारण सडक अवरुद्ध भए तत्काल सञ्चालन गर्न धादिङको गजुरी, चितवनको भरतपुर र बाराको जितपुरमा बेलिब्रिज तयारी अवस्थामा राखिएको छ । साथै, गौचर ब्यारेकमा तीन वटा द्रुत यान्त्रिक पुल पनि तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ ।
घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन सैनिक अस्पतालका चिकित्सक टोली, औषधि तथा राहत सामग्रीसमेत तयारी अवस्थामा राखिएको छ । आवश्यक परे इन्जिनियरिङ उपकरण र सडक खुलाउने सवारीसाधनसमेत तुरुन्त परिचालन गरिने जनाइएको छ ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले मनसुनजन्य विपद्का बेला जनधनको क्षति कम गर्न सेना सबै निकायसँग समन्वय गरेर काम गर्न प्रतिबद्ध रहेको बताए । सेनाले विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन केन्द्रदेखि जिल्ला तहसम्म संयुक्त अभ्यास र सामुदायिक तालिमसमेत सञ्चालन गरिरहेको जनाएको छ ।



















