
काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलहरूको चर्को विरोध र नाराबाजीका बीच सरकारले निर्वाचनसम्बन्धी दुई महत्त्वपूर्ण विधेयक अघि बढाएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले वेल घेराउ गर्दै लगातार अवरोध गरिरहे पनि सभामुखले बहुमतका आधारमा विधेयकहरू स्वीकृत भएको घोषणा गरेका हुन् । बैठकबाट ‘प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
विधेयक कानुनमन्त्री सोविता गौतमले प्रस्तुत गरेकी थिइन् । तर, विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान राख्दै बैठकभर नाराबाजी गरेका थिए ।
विपक्षीको अवरोधका कारण विधेयकमाथि कुनै पनि सांसदले धारणा राख्न पाएनन् । सभामुख डोलप्रसाद अर्यालले छलफलका लागि सांसदहरूलाई पाँच मिनेटको समय छुट्याए पनि विपक्षी सांसदहरूले त्यसलाई अस्वीकार गर्दै बैठक अवरुद्ध बनाएका थिए ।
त्यसैगरी ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको घोषणा गरिएको छ । सरकार संसदको नियमित प्रक्रिया अघि बढाउने पक्षमा देखिएको छ भने विपक्षी दलहरूले आफ्नो विरोधलाई अझ सशक्त बनाउने संकेत गरेका छन् ।



















