सहकारी दर्ता फेरि खुला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ७, बिहीबार १९:०८

काठमाडौं । बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थालाई राष्ट्रिय सहकारी प्राधिकरणमा दर्ता हुन सरकारले पुनः आह्वान गरेको छ । अब सहकारीहरूले आगामी असार ३२ गतेसम्म दर्ता तथा अभिलेखीकरणका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

राष्ट्रिय सहकारी प्राधिकरणले सहकारी ऐन, २०७४ मा अध्यादेशमार्फत गरिएको संशोधनपछि दर्ता प्रक्रिया पुनः खुला गरेको हो । सरकारले यसअघि तोकेको दर्ता समयसीमामा न्यून आवेदन परेपछि पुनः अवसर प्रदान गरिएको प्राधिकरणले जनाएको छ । अध्यादेशअनुसार प्राधिकरणले आवश्यक परे समयावधि तोक्न सक्ने व्यवस्था भएपछि असार ३२ सम्म आवेदन खुला गरिएको हो ।

Advertisement

यसअघि २०८१ चैत १८ गते जारी अध्यादेशमार्फत बचत तथा ऋण सहकारीको नियमनका लागि प्राधिकरण गठन गरी अनिवार्य दर्ता व्यवस्था गरिएको थियो । त्यसअनुसार सञ्चालनमा रहेका सहकारीलाई एक वर्षभित्र दर्ता हुनुपर्ने प्रावधान राखिएको थियो । तर, २०८२ चैत १७ सम्मको अन्तिम समयसीमामा अपेक्षित संख्यामा सहकारी दर्ता हुन नसकेपछि प्रक्रिया पुनः संशोधन गरिएको थियो ।

प्राधिकरणले २०८२ पुस १० देखि अभिलेखीकरण प्रक्रिया सुरु गर्दै चैत १७ सम्म आवेदन लिएको थियो । सो अवधिमा प्राप्त विवरण अनुसार २ हजार २ सय ६२ सहकारीले सञ्चालन इजाजतपत्र पाइसकेका छन् भने ९ सय ५५ सहकारीको इजाजत जारी हुने क्रममा छ । त्यस्तै ३ हजार ७ सय ५९ सहकारीले पूर्ण विवरण प्रविष्ट गरेका छन् भने ४ हजार ७ सय ८९ सहकारीले आंशिक विवरण मात्र पेस गरेका छन् ।

प्राधिकरणका अनुसार करिब १० हजार सहकारीले अझै प्रारम्भिक आवेदन मात्रै दिएका छन् । देशभर करिब ३२ हजार सहकारी संस्था दर्तामा रहेका छन् । जसमध्ये करिब १५ हजार बचत तथा ऋण कारोबारसँग सम्बन्धित रहेको अनुमान गरिएको छ । न्यून सहभागितापछि दर्ता प्रक्रिया पुनः खुला गर्दै प्राधिकरणले नियमन दायरामा ल्याउने प्रयास तीव्र बनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.