
विराटनगर । औद्योगिक सहर विराटनगरमा ‘व्यवसाय र मानव अधिकार’ बीचको अन्तरसम्बन्ध र यसका चुनौतीबारे सरोकारवालाहरूबीच छलफल भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशको आयोजना तथा मोरङ उद्योग व्यापार संघको समन्वयमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले व्यावसायिक क्षेत्रमा मानव अधिकारको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । उनले उद्योगी व्यवसायीहरूको सुरक्षा र संवर्द्धन राज्यको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै व्यवसाय सञ्चालन गर्दा मानवीय पक्षलाई भुल्न नहुने बताए ।
त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका प्रमुख वीरबहादुर बुढा मगरले व्यवसाय र मानव अधिकारका विश्वव्यापी सिद्धान्तबारे चर्चा गरे । उनले सन् २०११ मा संयुक्त राष्ट्र संघले पारित गरेको ‘व्यवसाय र मानव अधिकार सम्बन्धी निर्देशक सिद्धान्त’ लाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साहले व्यवसायीहरूले नाफा मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै प्राथमिकता दिइरहेको बताए । उनले उद्योगी र श्रमिकबीचको सम्बन्ध सुमधुर हुँदा मात्रै औद्योगिक विकास सम्भव हुने र यसले मानव अधिकारको प्रत्याभूति गर्ने धारणा राखे ।
कार्यक्रममा मानव अधिकार अभियन्ता देवी बास्कोटाले एक कार्यपत्र प्रस्तुत गर्दै व्यवसाय र मानव अधिकारबीचको अन्तरसम्बन्ध, उद्योगीहरूको हकहित संरक्षणमा राज्यको भूमिका र व्यावसायिक क्षेत्रमा हुन सक्ने मानव अधिकार उल्लंघनका जोखिमबारे प्रकाश पारे ।
छलफलमा कोशी प्रदेशका विभिन्न औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानका करिब ५० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहभागीहरूले व्यवसाय गर्दा आइपर्ने व्यावहारिक कठिनाइ र मानव अधिकारका सिद्धान्तलाई कसरी तालमेल मिलाउने भन्ने विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रमले औद्योगिक क्षेत्रमा मानव अधिकारको संस्कृति विकास गर्न र राज्य, व्यवसायी तथा मानव अधिकारकर्मीबीचको दूरी कम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास इन्सेक कोशी प्रदेशले लिएको छ ।

























