कतार एयरवेजलाई साढे २ करोड क्षतिपूर्तिको फैसला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ८, शुक्रबार १२:१२

काठमाडौं । जहाजभित्र चालक दलका सदस्यबाट कफी पोखिएर घाइते भएकी एक नेपाली यात्रुलाई कतार एयरवेजले २ करोड ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

उपभोक्ता अदालतले पीडित यात्रुको पक्षमा फैसला गर्दै उक्त रकम क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो । उपभोक्ता अदालतका न्यायाधीश दिवाकर भट्ट, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले बिहीबार गरेको फैसलाअनुसार कतार एयरवेजले मोन्ट्रियल कन्भेन्सन अन्तर्गत २ करोड ४१ लाख ५२ हजार ४०६ रुपैयाँ तथा उपभोक्ता संरक्षण ऐनअनुसार थप २० लाख रुपैयाँ गरी कुल २ करोड ६१ लाख ५२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने ठहर गरेको हो ।

Advertisement

झण्डै तीन वर्षअघि अमेरिकाको बोस्टनबाट दोहा हुँदै काठमाडौं फर्किने क्रममा ललितपुरकी प्रीति थापा कतार एयरवेजको जहाजमा चालक दलकै सदस्यबाट तातो कफी पोखिँदा घाइते भएकी थिइन् । घटनापछि उनले शारीरिक तथा मानसिक क्षति बेहोर्नुपरेको भन्दै एयरवेजविरुद्ध कानुनी उपचार खोजेकी थिइन् ।

थापाले प्रारम्भमा एयरवेजसँग आन्तरिक रूपमै क्षतिपूर्ति माग गरे पनि कम्पनी सहमत नभएपछि अदालतमा मुद्दा दायर गरेकी थिइन् । उनले उपभोक्ता संरक्षण ऐन तथा अन्तर्राष्ट्रिय हवाई यात्रुसम्बन्धी मोन्ट्रियल कन्भेन्सनअनुसार २० लाख अमेरिकी डलर क्षतिपूर्ति माग गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.