
पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–६ अर्चलेमा शुक्रबार बिहानका राति ३ः३० बजेतिर पिकअप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा झापाको बाह्रदशी गाउँपालिका–५ का ३५ वर्षीय गोपाल भट्टराईको मृत्यु भएको पाँचथर प्रहरी प्रमुख डीएसपी अनिषकुमार कर्णले बताए ।
उनका अनुसार च्याङथापुबाट फलैंचातर्फ जाँदै गरेको प्रदेश ०१–००२ च १५६९ नम्बरको सिंगल क्याब पिकअप दुर्घटनामा परेको थियो । पिकअपमा चालकसहित तीन जना सवार थिए । गाडी ओरालो सडक खण्डमा पुगेको बेला यात्रुहरू पिसाब फेर्नलाई ओर्लिएका थिए । त्यही समयमा गाडी अचानक आफैं गुडेर नियन्त्रणबाहिर गएको र भिरबाट खसेको बताइएको छ ।
दुर्घटनाको समयमा चालक भट्टराई गाडीभित्रै थिए । गाडीसँगै उनी पनि भिरबाट खस्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य दुई यात्रु भने गाडीबाट पहिले नै ओर्लिएका कारण सुरक्षित रहेका छन् । मृतकको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल पठाइएको छ ।



















